ग्लोबल आइएमई बैंकद्वारा कर्पोरेट–पे प्रणालीको सुरुआत

काठमाडौं । ग्लोबल आईएमई बैंकले आफ्ना संस्थागत ग्राहकका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ ।

उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका वित्तीय स्रोत व्यवस्थापन विभाग प्रमुख शान्ता सिवाकोटी र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

बैंकले आफ्ना व्यावसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल प्ल्याट्फर्म मार्फत ग्राहकहरुले बैंकमा नगई फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु सजिलै गर्न सक्ने जनाइएको छ ।

त्यस्तै, उक्त प्रणालीमार्फत कनेक्टआईपीएस अथवा एनसीएचएल–आईपीएसमा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबारहरु गर्न सकिनेछ । बैंकले आफ्ना ग्राहकहरुका लागि विभिन्न किसिमका डिजिटल भुक्तानी प्लाट्फर्महरु प्रदान गर्दै आएको छ । यस कर्पोरेट–पे प्रणालीको सुरुवातले बैंकका व्यावसायिक ग्राहकहरुलाई डिजिटल भुक्तानी सेवा प्रदान गर्न थप टेवा बैंकले जनाएको छ ।

Top