अब डाक्टरको अपोइन्टमेन्ट ई–सेवाबाट

काठमाडौं । कोजेन्ट हेल्थले भुक्तानी सेवा प्रदायक ई–सेवासँगको सहकार्यमा अनलाइनमार्फत् डाक्टरको अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरुवात गरेको छ । नेपाली स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी कोजेन्ट हेल्थले सुरु गरेको ई–अपोइन्टमेन्ट्स एउटा यस्तो प्लेटफर्म हो, जसमार्फत् बिरामी अथवा अन्य नागरिकले ई–सेवाको एपबाट आबद्ध स्वास्थ्य संस्थाका कुनै पनि डाक्टरसँग ओपीडी परामर्शका लागि सहजै अपोइन्टमेन्ट बुक गर्र्नुका साथै ई–सेवामार्फत् शुल्कसमेत भुक्तान गर्न सक्नेछन् ।

यो सेवाको सुरुवातले अस्पताल तथा स्वास्थ्य सेवा संस्थालाई उनीहरूको ओपीडी सेवा सुलभ र व्यवस्थित बनाउने मात्र नभई ई–सेवाका ३५ लाख बढी सक्रिय प्रयोगकर्ता र यसका एजेन्ट साझेदारले देशभर सेवा प्रदान गरिरहेका एक करोडभन्दा बढी प्रयोगकर्तामा विस्तार गर्ने काममा सहयोग पुर्याउँछ ।

कोभिड–१९ को महामारीले उत्पन्न विषम परिस्थितिमा जोखिम न्यूनीकरणका लागि आम जनताले आफ्नो घरबाटै चाहेको अस्पताल र चिकित्सक पत्ता लगाई अपोइन्टमेन्ट बुक गर्न र लाइन बस्दा हुन सक्ने जोखिम र झन्झटबिना नै उपचार तथा परामर्श लिन सकिन्छ । हाल निदान अस्पताल, अन्नपूर्ण न्यूरो अस्पताल र बीपी कोइराला नेत्र विज्ञान केन्द्रजस्ता प्रतिष्ठित निजी स्वास्थ्य संस्था यस प्लेटफर्ममा आबद्ध भइसकेका छन् भने दर्जनौं अस्पताल तथा स्वास्थ्य संस्थामा यो सेवा सुरु हुने क्रममा छ ।

कोजेन्ट हेल्थका प्रबन्ध निर्देशक डेनियल डी, श्रेष्ठले सेवा शुभारम्भको घोषणा गर्दै स्वास्थ्य सूचना प्रविधि र डिजिटल वित्तीय प्रविधिलाई एकीकृत गर्दै बनाइएको यस नवीनतम् सेवाले नेपालमा दिगो डिजिटल इकोसिस्टम निर्माण गर्ने दिशामा अग्रसर हुने विश्वास लिएको बताए ।

Top