चार महिनामा ३ खर्ब ३७ अर्ब रेमिट्यान्स भित्रियो

कोरोना महामारीको बीचमा पनि रेमिट्यान्स ११ प्रतिशतभन्दा धेरैले बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्मको चार महिनामा तीन खर्ब ३७ अर्ब ७२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो गएकाे वर्षको पहिलो चार महिनाको तुलनामा ११ दशमलव २ प्रतिशतले धेरै हो । अमेरिकी डलरमा रेमिट्यान्स ६ दशमलव ४ प्रतिशतले बढेर दुई अर्ब ८५ करोड पुगेको छ ।

यस्तै साउनदेखि कात्तिकसम्मको चार महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ७५ दशमलव ८ प्रतिशतले घटेको छ । चार महिनामा १९ हजार दुई सय ५१ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । पोहोर पहिलो चार महिनामा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ५ दशमलव ६ प्रतिशतले बढेको थियो ।

यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ६७ दशमलव ९ प्रतिशतले घटेर २५ हजार नाै सय ३१ जनामा झरेको छ । अघिल्लो वर्षको चार महिनामा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ९ दशमलव १ प्रतिशतले बढेको थियो ।

Top