गतबर्ष भन्दा पनि कम भित्रियो रेमिटेन्स, अर्थतन्त्रमा संकटको संकेत

काठमाडौं। राजनीतिक अस्थिरताले विकास खर्च नभइरहेका बेला अर्थतन्त्रको मेरुदण्ड मानिएको रेमिटेन्स गत बर्षभन्दा १.४ प्रतिशत कम भित्रिएको छ। नेपाल राष्ट्र बैंकले आइतबार देशको आर्थिक विवरण सार्वजनिक गर्दै रेमिटेन्स घटेको जनाएको हो।

भदौमा लगभग शुन्यका हाराहारीमा बढेको रेमिटेन्स असोज र कात्तिकमा चाडबाडका कारण बढ्ने अपेक्षा राष्ट्र बैंकले गरेको थियो। त्यस अनुसार असोजमा सामान्य बृद्धि पनि भयो। तर कात्तिकमा अनुमान विपरित रेमिटेन्स घटेको हो।

राष्ट्र बैंकका अनुसार गत आर्थिक बर्षको कात्तिकसम्म विदेशमा रहेका नेपालीले पठाउने रेमिटेन्स दुई खर्ब ३२ अर्ब १४ करोड रुपैयाँ भित्रिएको थियो। यसपाली कात्तिकमा घटेर जम्मा दुई खर्ब २८ अर्ब ९५ करोड रुपैयाँ मात्र भित्रिएको छ।

बैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आएका कारण रेमिटेन्स घटेको स्पष्टीकरण राष्ट्र बैंकले दिएको छ। राष्ट्र बैंकले रेमिटेन्स घट्दा यसको असर के पर्छ भनेर केही पनि बोलेको छैन।

रेमिटेन्स घट्दा वाह्य क्षेत्र स्थायित्व कायम गर्न निक्कै गाह्रो हुने छ। रेमिटेन्स घटेका कारण शोधनान्तर बचत न्यून देखिएको छ। गत बर्ष करिव २२ अर्ब बचतमा रहेको शोधनान्तर अवस्था यसपाली दुई अर्ब ४० करोड रुपैयाँमा खुम्चिएको छ।

रेमिटेन्स घटेका कारण बैंकिङ क्षेत्रमा तरलता थप प्रभावित हुने देखिएको छ। ‘बैंकिङ तरलता बढ्ने भनेकै शोधनान्तर बचत हुँदा हो,’ एक बैंकरले भने, ‘शोधनान्तर घाटा भएपछि तरलता सहज नहुने निश्चित देखिएको छ।’

गत बर्ष पनि दसैंतिहारपछि नै तरलता अभाव चर्किएको थियो। गत बर्ष बैंकहरुले निक्षेपको तुलनामा ऋण लगानी बढि गरेका कारण अभाव चर्किएर ब्याजदर दोब्बरले बृद्धि भएको थियो। यसपाली भने रेमिटेन्स र घट्दो शोधनान्तरका कारण तरलता संकट अझ गहिरिने देखिएको छ।

सरकारले गत जेठपछि खर्च बढाएका कारण तरलता सहज हुँदै गएको थियो। यसले गर्दा साउनबाट ब्याजदरमा केही सुधार देखिन थालेको थियो। मुद्दति निक्षेपसँगै बचतको ब्याज दर घटेको थियो। तर रेमिटेन्स कम हुन थालेपछि कात्तिकबाटै तरलता अभाव सुरु हुन थालिसकेको छ।

‘रेमिटेन्स नेगेटिभ हुने र सरकारी खर्च नहुने हुँदा अवस्था अझ जटिल देखिएको छ’ एक बैंकरले भने।

विश्व बैंक तथा एसियाली विकास बैंकले सरकारी लक्ष्य साढे सात प्रतिशतको आर्थिक बृद्धि संभव नभए भन्दै चार प्रतिशत हाराहारी हुने प्रक्षेपण गरिरहेका बेला रेमिटेन्स बृद्धि ऋणात्मक हुँदा अर्थतन्त्रमा थप चुनौती देखिएको छ। विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिटेन्स बृद्धि ऋणात्मक भएका बेला उच्च आयातले शोधनान्तर घाटा बढ्दा भुक्तानी सन्तुलनमा असर पर्ने राष्ट्र बैंकको निष्कर्ष छ।
राष्ट्र बैंकले केही बर्षअघि शोधनान्तर घाटा उच्च हुँदा बाणिज्य मन्त्रालयमार्फत सुनको आयात नै बन्द गरेको थियो। पछि सहज भएर आयात खुकुलो पारिएको थियो।

रेमिटेन्समा कमी आउनुमा कतार संकटका साथै साउदी अरबमा कामदार कटौती प्रमुख कारण हुन्। नेपाली कामदारले पठाएको रकम बैकिङ प्रणालीबाट नआएर हुण्डी प्रयोग हुँदासमेत रेमिटेन्स घटेको राष्ट्र बैंकको आशंका छ। साथै पछिल्लो समय विदेशमा काम गर्न जाने नेपालीको संख्यासमेत घटिरहेको छ।

Top