अब अनलाइनबाटै पुनः श्रम स्वीकृति,अनलाइनबाट कसरी दिने आवेदन?

काठमाडौं । वैदेशिक रोजगार विभागले पुस १७ गतेबाट अनलाइबाटै पुनः श्रम स्वीकृति लिन पाउने व्यवस्था मिलाएको छ । योसँगै पुनः श्रम स्वीकृतिकै लागि विदेशिएकाहरु नेपाल फर्कनुपर्ने झन्झटबाट मुक्त हुने भएका छन् ।

यो व्यवस्थाले श्रम स्वीकृति लिन मात्रै नेपाल आउनुपर्ने समस्या समाधान हुने विभागका निर्देशक एवं सूचना अधिकारी टीकामणि नेउपाने बताउँछन् । ‘‘यो व्यवस्थाले श्रम स्वीकृतिका लागि कार्यालय धाउनुपर्ने बाध्यता हट्नेछ ।”


हाल दैनिक सात सयको हाराहारीमा श्रम स्वीकृति लिन सर्वसाधारण श्रम कार्यालय पुग्ने गरेका छन् । ‘‘अनलाइनबाटै काम हुने भएपछि श्रम स्वीकृति लिने ८० प्रतिशतभन्दा श्रमिक लाभान्वित हुनेछन्,’’ उनले भने, ‘‘गत चार महिनामा करिब २५ हजारले पुनः श्रम स्वीकृति लिएका छन् भने पाँच हजार नौ सयले नयाँ श्रम स्वीकृति लिएका छन् । यस्तै भिसा लिगलाइजेसनका लागि १४ सयले आवेदन दिएका छन् ।’’

नयाँ श्रम स्वीकृति लिने समयमै श्रमिकको धेरै विवरण सिस्टममा भएका कारण पुनः श्रम स्वीकृति अनलाइनबाट लिन सम्भव भएको उनले बताए । चाँडै नयाँ श्रम स्वीकृति लिने र लिगलाइजेसनका लागि पनि अनलाइनबाटै मिल्ने प्रविधि बनाउँदै गरेको नेउपानेले बताए ।

अनलाइनबाट पुनः श्रम स्वीकृतिका लागि विभागले तोकेका पेमेन्ट गेटवेमार्फत वैदेशिक रोजगारी कल्याणकारी कोषको रकम र बिमा शुल्क बुझाउन सक्नेछन् ।

पहिले पाएको श्रम स्वीकृतिको प्रतिलिपि, राहदानीको प्रतिलिपि, अघिल्लोपटक र हाल प्राप्त गरको भिसा, रोजगार करारपत्र, जीवन बिमा, कल्याणकारी कोषमा रकम भुक्तानी गरेपछि मात्र पुनः श्रम स्वीकृति पाइने विभागले जनाएको छ ।

Top